October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

यस्तो दुर्दशा देख्न पर्छ भन्ने भए मैले ओलीसँग एकता गर्ने थिइनँः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारले भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्नु भ्रष्टाचारको ढाकछोप गर्न बोलिएको बोली भएको समेत बताउनुभएको छ ।

Advertisement

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मतको प्रस्ताव पेश गरेपछि त्यसको समर्थनमा बोल्दै उहाँले ओली सरकार भ्रष्टाचारमा डुबेको बताउनुभयो । दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने जस्तो असंवैधानिक काम हुने पहिल्यै थाहा भएको भए गत चुनावमा एमालेसँग एकता र गठबन्धन गर्ने कुरै नहुने समेत बताउनुभयो ।

उनले यस्तो दुर्दशा देख्न परेको भए गठबन्धन र पार्टी एकताको प्रस्ताव नै नलिने बताए। ‘पाँच वर्ष नपुग्दै २/२ पटक विघटन र पुन:स्थापना भएको इतिहास छैन होला ’ उहाँले भन्नुभयो ‘दुई तिहाइको प्रधानमन्त्रीले विघटन गरि दुर्घटनमा धकेल्ने काम भएको हो।’ आफैले समर्थन गरेका नेताले असंवैधानिक काम गर्दा आफूलाई अप्ठ्यारो महसुस गरेको उहाँको भनाई छ ।

पुनःस्थापित संसदले निवर्तमान प्रधानमन्त्री केपी ओलीकै मुखबाट केही कुरा सुन्न चाहेको तर उहाँ नआउँदा अस्वभाविक महसुस भएको बताउँदै भन्नुभयो, ‘मलाई अस्वभाविक महसुस भएको छ, यो लोकतान्त्रिक हो कि अलोकतान्त्रिक ।’

उहाँले पहिलो पटक संसद विघटनको प्रयास गर्दा पार्टीमा झगडा भएको कारण विघटन गरेको भन्दै ओलीले अभिव्यक्ति दिएको भन्दै उहाँले पार्टीमा झगडा भएर संसद विघटन गर्ने व्यवस्था चलन कहाँ छ ? भन्दै प्रश्न समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गर्नुभयो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पार्नुभयो ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।