September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

प्रधानमन्त्री जी त परमादेशले बनेको हो तै पनि हामी देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले शेर बहादुर देउवा जनताको आदेशले नभई परमादेशले प्रधानमन्त्री बनेको बताउनुभएको छ । विश्वासको मतको पक्षमा मत दिने घोषणा गर्दै उहाँले आफूहरु घायल अवस्थामा रहेपनि देउवालाई विश्वासको मत दिने बताउनुभयो ।

Advertisement

आफूहरुलाई सत्ता पाउने बेलामा मात्रै सम्झिने गरिएको भन्दै उहाँले भन्नुभयो, ‘मत त उहाँलाई दिन्छौँ, तर यो सत्तासंघर्ष, जो प्रताडित समाज छ, जो आम जनता छ, त्यसले केही पाउने होइन । प्रधानमन्त्री जी त परमादेशले बनेको हो, जनताको आदेशले होइन ।’

उहाँले अघि भन्नुभयो, ‘यो संविधानको जति गुन गाउनुस, यो संविधानले गर्दा हामीले गोली खानु परेको छ, सहीद हुनुपरेको छ, अहिले पनि हाम्रा साथीहरु जेलमा हुनुपरेको छ, रेशम चौधरी जेलमा हुनुहुन्छ, जो घट्नास्थलमै हुनुहुन्थेन ।’ यो संविधानबाट आफूहरुले कहिल्यै केही पनि नपाएको भन्दै उहाँले आफूहरुका मागहरुमा सदैव अडिग रहेको समेत बताउनुभयो ।

मत दिन आग्रह गर्दै देउवाले पत्र नै लेखेको कारण मत दिन लागेको उहाँको भनाई छ । ‘हामी सर्वाेच्चको सम्मान गर्छाँै तर नागरिकता सम्बन्धी जुन अध्यादेशले अवरोध पाएको छ, त्यसमा म के निवेदन गर्छु, नागरिकता दिने कर्तवय राज्यको को हो, तर जसको पासमा नागरिकता छैन त्यसको के ? के राष्ट्रियताको निर्धारण पनि अदालतले नै गर्ने हो ? राज्यले नै गर्ने हो ?’, उहाँले भन्नुभयो । राष्ट्रियताको निर्धारण न राज्यको न त अदालतको हातमा हुने उहाँको भनाई छ ।