October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

एमाले कार्यदलको बैठक सकियो, छलफल सहमति उन्मुख

नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको नेताहरुले बताएका छन् । भोलिसम्म टुंगोमा पुग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताउनुभयो । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ ।

Advertisement

बुधबार सिंहदरबारमा भएको छलफल पनि सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्य ज्ञवालीले जानकारी दिनुभएको हो । एमाले प्रवक्ता समेत रहनु भएका ज्ञवालीले भन्नुभयो , ‘अहिलेसम्मको हाम्रो छलफलका आधारमा भोलिसम्म टुंगोमा पुग्ने विश्वास लिएका छौं ।

एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन ब्युँतिएको हो । सोमबारको बैठकमा विगतका राजनीतिक घटनाको बारेमा समीक्षा भएको थियो । मंगलबार पनि बैठक बसेको थियो । बैठकमा असहमतिका कुरामा गम्भीर छलफल भएको तर, कुनै सहमति हुन सकेको थिएन। जेठ २ गते गठन भएको कार्यदलले ५० दिनपछि सोमबारदेखि औपचारिक छलफल शुरु गरेको हो । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।

कार्यदलको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । कार्यदलमा सहमति जुटेपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा समेत भेटवार्ता हुने कार्यदल सदस्य समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए । उनले भोलिको बैठक निर्णायक र अन्तिम हुने आशा रहेको भन्दै भने, ‘कार्यदलमा सहमति कायम भएपछि यसक्रममा आवश्यक पर्दा दुईजना नेताहरू भेट्नुहुन्छ । भोलिको बैठक अन्तिम हुनेमा म आशावादी छु ।’

कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए । एमालेको विवाद समाधानका लागि गठन भएको तर निस्क्रिय रहेको कार्यदल गत सोमबार ब्युँतिएको थियो ।