November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

एमाले कार्यदलको यस्तो भयो सहमति

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक मंगलबार पुनः बस्नेगरी सकिएको छ ।

Advertisement

सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिनुभयो । उहाँकाअनुसार पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने भएको छ । ‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयबस्तुमा प्रवेश गरेनौं ।

तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः भोलि बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ बैठकपछि रावलले भन्नुभयो । पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीपक्षले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको औपचारिक बैठक बसेको थियो ।एमालेले हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्मको समय दिएको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजका रावलले आइतबार राति प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको थियो । एक नेताका अनुसार उक्त भेटमा कार्यदललाई सक्रिय बनाएर पार्टीका समस्यामाथि छलफल गरिनुपर्ने भन्ने रावलको प्रस्तावमा ओली सकारात्मक भएपछि औपचारिक बैठक बसेको हो ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहनुभएको छ ।