October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

माधव नेपाललाई मनाउन एमाले वार्ता टोलीका ६ सदस्य कोटेश्वरमा

नेकपा एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरु माधव नेपाललाई मनाउन उनकै निवास कोटेश्वर पुगेका छन् । बालुवाटार बैठकको भोलिपल्ट नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा पुगेका छन् ।

Advertisement

बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वर पुगेका छन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् ।

शनिबार दुई पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो वार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो । यसबारेमा प्रधानमन्त्री ओलीसँग कुरा राख्ने भन्दै शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल बालुवाटार फर्केका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । त्यस बेलासम्म हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने अध्यक्ष ओलीले बताइसकेका छन् ।ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका थिए । वार्ताको भ्रममा नपर्न समेत ओलीले भनेका थिए ।

एमाले स्रोतका अनुसार शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल पार्टी एकताको पक्षमा छन् । तर, केपी ओली, विष्णु रिमाल लगायतका नेताहरु भने हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहलाई कारवाही कारवाही गरेर अगाडि बढ्ने पक्षमा छन् ।