November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

महेश बस्नेतको प्रस्ताव : संघीयता र धर्म निरपेक्षताको समीक्षा गरौं

नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।

Advertisement

बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षतामाथि समीक्षा गर्नुपर्ने प्रश्न उठाएका हुन् ।

युवा नेता बस्नेतले संविधानमा रहेको वर्तमान संसदीय शासकीय स्वरूपलाई बदलेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने प्रस्तावसमेत अगाडि सारेका छन् ।यसअघि ओली पक्षका निरु पाललगायतले संघीयता खारेज गर्नुपर्ने मत सामाजिक सञ्जालहरुमा राख्दै आएका थिए । तर अब पार्टीकै बैठकमा यसले प्रवेश पाएको छ ।

बस्नेतले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपमा जानुपर्ने र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । बस्नेतले आफ्ना प्रस्तावहरूलाई व्याख्या नगरीकन संक्षिप्त ८ वटा बुँदामा प्रस्तुत गरेका छन् । बस्नेतले बैठकमा प्रस्तुत गरेका बुँदाहरू यस्ता छन्–

प्रस्तावहरू

१) सङ्घीयताको बारेमा समीक्षा गरौँ ।

२) मुलुकको विशिष्ट पहिचान घोषणा गरौँ ।

३) धर्म निरपेक्षता बारेमा बहस गरौँ ।

४) शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ ।

५) दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संवैधानिक व्यवस्था कायम गरौँ।

६) पार्टी अध्यक्ष २ कार्यकाल पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गरौँ ।

७) पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरूको ४० प्रतिशत सुनिश्चित गरौँ ।

८) पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा–पत्रमा यो विषय सम्बोधन गर्न यो बैठकबाट कार्यदल बनाएर जाऔँ ।