January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

स्थानीय तहलाई इन्टरनेट जडानको सम्झौता गर्न आउन आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहलाई इन्टरनेट सेवा जडान तथा सञ्चालनसँग सम्बन्धीत सम्झौतापत्रमा हस्ताक्षर गर्न आउन आग्रह गरेको छ ।

Advertisement

प्राधिकरणले आज एक सूचना जारी गर्दै ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालनको सम्झौतापत्रमा हस्ताक्षर गर्न छुटेका स्थानीय तहलाई सम्भौता गर्न आउन आग्रह गरेको हो ।

ब्रोण्डब्याण्ड इन्टरनेट जडानका लागि प्राधिकरणले यसअघि सम्झौता गर्न बाँकी रहेका स्थानीय तहलाई एक महिनाको समय दिएर सम्झौता गर्न बोलाएकोे हो । एक महिनाको अवधिसमेतमा सहमतिपत्रमा हस्ताक्षर गर्न नआएको खण्डमा प्राप्त सूचीलाई नै अन्तिम मानी कार्यक्रम अघि बढाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि नै भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्न स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अगाडि बढाएको थियो ।

छैसठ्ठी जिल्लाका ६५६ मध्ये २६७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ भने भूकम्पबाट अति प्रभावित आठ जिल्लाका ७६ मध्ये ७१ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भैसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राधिकरणले भूकम्पबाट अति प्रभावित आठ जिल्ला (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखल ढुङ्गा)का सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय तथा सामुदायिक स्वास्थ्य संस्थामा ब्रोण्डब्याण्ड इन्टरनेट सेवाको स्तर उन्नति तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्दै आएको छ ।