January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

धार्मिक पर्यटन बढाउन भगवान् शिवको मूर्ति

धार्मिक पर्यटनलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ स्थित पशुपति मन्दिर परिसरमा २५ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

Advertisement

पशुपति सेवा समाज समितिको पहलमा मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो । दाताको सहयोगमा मूर्ति निर्माणको कार्य भइरहेको समितिका अध्यक्ष कालुसिंह ठगुन्नाले बताउनुभयो । “मूर्ति निर्माणका लागि दाताबाट सङ्कलित सहयोग रु तीन लाख ९३ हजार खर्च गरेका छौँ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो, “अपुग रकमका लागि दाताले सहयोगको अश्वासन दिएका छन ।”

गत भदौ १ गतेदेखि निर्माण थालिएको सो निर्माण कार्य पूरा हुन लागेको छ । “सरकारी र गैरसरकारी कुनै पनि निकायबाट सहयोग प्राप्त भएको छैन” उहाँले भन्नुभयो, “स्वस्फुर्त रुपमा दाताले सहयोग रकम उपलब्ध गराउनुभएको छ । त्यसबाटै मूर्ति निर्माणको कार्य अगाडि बढेको छ ।”

वर्षौदेखि धार्मिक महत्व बोकेका ओझेलमा परेका क्षेत्रहरु मूर्ति निर्माणको कार्यसँगै प्रचारमा आउने स्थानीय भक्तजनको भनाइ रहेको छ । स्थानीय लालसिंह महराले भन्नुभयो, “यस क्षेत्र वरिपरिका सुनदेवी ताल, प्राचिन बैजनाथ मन्दिर, मुडका धाम, कालापानी भगवती थानलगायत प्रचारप्रसारमा टेवा पुग्छ ।”