January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

हरेक व्यक्तिले आस्था राख्ने धार्मिक स्वतन्त्रता छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रत्येक व्यक्तिले आस्थाअनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रताको हक भएको बताउनुभएको छ । आउँदै गरेको नव वर्ष सन् २०२२ र ‘येशुख्रीष्ट’को जन्मदिन अर्थात् ख्रीष्टमस बडादिन’ को पूर्वसन्ध्यामा इसाई समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहीले धार्मिक स्वतन्त्रताको हक नेपालको संविधान २०७२ मा नै व्यवस्था भएको बताउनुभयो ।

Advertisement

“व्यक्तिको धर्म हुन्छ, सबै व्यक्तिलाई आ–आफ्नो आस्था बमोजिक धर्म मान्ने हकअधिकार छ,” उहाँले भन्नुभयो, “कसैले धर्म मानेकै कारण फौजदारी अभियोग लगाइनु हुँदैन । मेरो र कर्णाली प्रदेश सरकारको पनि त्यही मान्यता हो । हामी एउटै बगैँचामा भएका विभिन्न जातका फुलबारी हौँ । हामी सबैको धर्म समान छ ।” धर्मलाई प्रोत्साहन दिन धर्मगुरु तथा अगुवाले गरेको कुरालाई सरकारले आत्मसाथ गर्ने र त्यसमा ख्रीष्टियनले चिन्तित हुनु नपर्ने मुख्यमन्त्री शाहीको भनाइ थियो ।

कार्यक्रमस्थलमै विभिन्न मागसहित पाँच बुँदे ज्ञापनपत्र बुझ्नुभएका उहाँले प्राप्त मागको सम्बोधन एवं समाधानका लागि तीनै तहका सरकारबीचको तालमेलबाट सङ्घीय सरकारसँग समन्वय एवं पहल गर्ने र स्थानीय सरकारलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार सबै जातजाति धर्मावलम्बीको साथ रहेको बताउनुभएका मुख्यमन्त्री शाहीले ख्रीष्टमसलगायत सबै चाडपर्वलाई समान मान्यता दिने जनाउँदै यही पुस १० गते मनाइने ख्रीष्टमस तथा नयाँ वर्षको अवसरमा शुभकामना प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले आजको संविधान हामी सबैको साझा आन्दोलन, त्याग र सङ्घर्षबाट जन्मेको र यसले हामी सबैलाई सुरक्षित बनाएको जिकिर गर्नुभयो । त्यसको पालना हामी सबैबाट हुनुपर्नेमा जोड दिँदै उहाँले इसाई धर्मावलम्बीको जीवनमा राज्यबाट भएका विभेद वा अन्य समस्याका विषयमा उठेका माग र लिखित ज्ञापनपत्रले आफ्नो ध्यानाकर्षण भएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो समाज धार्मिक, जातीय, भाषिक र साँस्कृतिकरुपले विविधतायुक्त छ । हामीले एक अर्काको धर्ममा प्रश्न नआउने गरी सबै धर्म संस्कृतिको सम्मान र संरक्षण गरौँ ।” धर्मनिरपेक्षताका विषयमा केहीले प्रश्न उठाए पनि जनताको रगत पसिनाले संविधानमा व्यवस्था गरिएको अधिकारमा कसैलाई त्यसबाट विचलित नहुन उहाँले सुझाउनुभयो । कार्यक्रममा राष्ट्रिय मण्डली सङ्गती नेपालका केन्द्रीय अध्यक्ष रेभरेण्ट पास्टर हनुक तामाङले धार्मिकताले देशलाई उचाल्नुका साथै मुक्तिको सन्देश प्रवाह गर्ने बताउनुभयो ।

उक्त ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपाल कर्णाली प्रदेश तथा इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ट पास्टर पदम गैरेले इसाइको कर्णालीमा ७० र नेपालमा ४०० वर्ष लामो इतिहास रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कर्णालीमा हाल ५० हजार इसाइ धर्मावलम्बी रहेका छन् । विभिन्न साँस्कृतिक कार्यक्रम देखाइएको उक्त कार्यक्रममा पास्टर गोमानसिंह बस्याल, प्रेम बयलकोटीलगायतले धर्म संस्कृतिले सभ्य र अनुशासित जीवन निर्माण हुने विचार गर्नुभएको थियो ।