भगवान बनाउने मान्छे !

भगवान बनाउने मान्छे !

गलकोट । मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रंग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २, श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त छन् । उनी कलामा व्यावसायिकता अँगाल्ने कममध्येमा पर्नुहुन्छ ।

ढुंगाका आकर्षक मूर्ति र शिलालेख लेखनमा यस क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उनले तयार गरेको मूर्ति नेपालका धेरै स्थानमा पुगेको छ । लामिछानेका दाजुभाइ पनि मूर्तिकला व्यवसायमै सक्रिय छन् । सुवासचन्द्र सानै उमेरबाट चित्रकलामा पोख्त थिए ।

उनी अहिले ४६ वर्षका भए । पुर्ख्यौली घर कुस्मा नगरपालिका–१०, गहतेपखरा हो । त्यही गाउँबाट एसएलसी उतीर्ण गरेका लामिछाने अहिले धौलागिरिमा सफल व्यवसायीका रुपमा परिचित छन् । श्रीनगर टोलको क्याम्पस रोडमा बस्दै र व्यवसाय गर्दै आएका लामिछाने दाजुभाइलाई मूर्तिकला र शिलालेखको काममा सधैं भ्याइनभ्याइ हुन्छ ।

पुर्ख्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा अञ्चल स्तरीय चित्रकलामा धौलागिरि अञ्चलमै प्रथम भएको बताउँछन् ।

‘सानै उमेरमा चित्रकलामा बढी जोड थियो, धेरै पटक प्रतियोगितामा भाग लिँदा अधिकांशमा प्रथम हुने गर्थें । विद्यालयका गुरुलेसमेत चित्रकलाबाट आफूहरु प्रभावित भएको बताउनुहुन्थ्यो’, लामिछानेले भने, ‘तर यसैलाई व्यावसायिक रुपमा अंगालिएला भन्ने लागेको थिएन । धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतले यसलाई निरन्तरता दिएको छु, नयाँ र फरक पेशा भए पनि निरन्तर लागे सफल भइन्छ भन्ने उदाहरण पनि हो ।’

अहिले लामिछानेका चारै भाई मूर्तिकलामा हुनुमा जेठा सुवासचन्द्रकै योगदान छ । सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्बल आर्ट सञ्चालनमा ल्याएका छन् । भाइ लेखनाथको श्रीनगर टोलमा र भाइ विपिनले म्याग्दीमा मूर्ति उद्योग चलाउँछन् ।

‘कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुंगामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो’, लामिछानेले स्मरण गर्दै भन्नुभयो, ‘विसं २०४६ साउन १३ गतेदेखि ढुंगा कुँदेर मूर्ति निर्माण गर्न थालेको हुँ, अहिले विद्युतीय औजारले धेरै सहज बनाएको छ ।’

त्यतिबेला लामिछानेलाई मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उनले २०५२ सालबाट व्यावसायिक रुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गरेका हुन् । एसएलसी पास गरेपछि व्यावसायिक बनेका लामिछानेले पहिलोपटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गरेको सम्झन्छन् ।

उनले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५०० का दरले बिक्री गरेका थिए । हिन्दू धर्मका धेरै भगवान् र सँगै बुद्धको मूर्तिसमेत बनाउँदै आएका लामिछानेले मूर्तिको माग धान्नै धौधौ भएको बताए । उनले धौलागिरिका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आएका छन् भने पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट समेत मूर्तिको माग भइरहेको उनले बताए ।

देश धर्म निरपेक्षतामा गइसकेपछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तीव्रता दिइएको उनको अनुभव छ । उनले भने, ‘मठमन्दिर बनाउने, शिला लेख्ने कार्य निकै बढेको छ र आफ्ना बाबुबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने प्रचलन समेत बढेको छ ।’

आफूलाई धेरैले ‘भगवान बनाउने मान्छे’ भन्ने गरेको उनी बताउँछन् । आफूले केबल ढुङ्गामा कला भरेको, तर त्यस्तो भगवान नै बनाउने मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ ।

‘भगवान ढुंगामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुंगालाई नै पुज्ने गरेका छन्’, लामिछानेले भने, ‘ढुंगा आफैँमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला । मैले ढुंगा देख्नासाथ भगवान सम्झन्छु, ढुंगा कुँदेर त्यही भगवान निकाल्छु । ढुंगामा भगवानको बास हुन्छ, कालीगढ एउटा माध्यम मात्रै हो । मैले ढुंगाभित्रको भगवानलाई आकार दिएको मात्रै हो ।’

उनले आफुले भगवान बनाउन नसक्ने बताउँदै भगवानको स्वरुपलाई बाहिर ल्याउने प्रयास गर्नु नै मूर्तिकारको मुख्य काम भएको बताए । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो, अहिले ति शिलालाई कालिगढले आकारमा मात्रै ढालेको उनको तर्क छ । मूर्ति उद्योगमा प्रायः शिव लिंग, भगवान शिव, विष्णु, नाग, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उनले बताए ।

मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको छ । ्पहिला महिनौँ लाग्ने मूर्ति आजकल हप्तामै बनाउन सकिन्छ । यसमा विद्युतीय औजारको धेरै सहयोग रहेको उनको अनुभव छ । विसं २०६० देखि विद्युतीय औजार चलाएको उल्लेख गर्दै उनले त्यसपछि नै शिला लेख्न थालेको बताए ।

ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताए । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिनुपर्ने अवस्था छ । एउटै ढुङ्गालाई उद्योगसम्म ल्याउन ५० हजारदेखि एक लाखसमेत खर्च हुन्छ ।

कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसाबले सोच, सोध र खोज गर्नसके युवा विदेश पलायन हुन नपर्ने मूर्तिकार सुदीप लामिछाने बताउँछन् । उनले दाजुको मेहेनत र लगाव देखेर आफू पनि यसप्रति अग्रसर भएको बताए । २२ वर्षीय सुदीप ल्याब टेक्निसियन अध्ययन गर्दथे । तर, दाजुको कर्म देखेर मूर्तिकलामा लागेको र अब यसमै लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

सुवासचन्द्र आफू यस व्यवसायबाट निकै सन्तुष्ट बनेको बताउँछन् । मूर्तिकला व्यवसायबाटै केही सम्पत्ति जोडेको पनि उनी बताउँछन् ।

‘यो धूलोमैलोमा खेल्ने पेशा हो, कतिले आफैँलाई आएर साहुजी खोइ? भन्दा अचम्म लाग्छ’, उनले प्राय भइरहने रोचक घटना स्मरण गरे ।

‘आजकल मान्छेहरुलाई कुर्सीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदारसमेत पाउन सकेको छैन,’ उनको दुखेसो छ ।

(राससका लागि खेमराज गौतमको रिपोर्ट)

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •