January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

देशका उच्च पहाडी क्षेत्रमा हिमपात (फोटो फिचर )

देशका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईवस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ । हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ ।

Advertisement

वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् ।

यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करिब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिनुभयो ।