अब कतार जाने कामदारको न्यूनतम तलब १ हजार रियाल

अब कतार जाने कामदारको न्यूनतम तलब १ हजार रियाल

काठमाडौं । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले कतार रोजगारीमा आउने विदेशी श्रमिकको न्यूनतम तलब १ हजार रियाल तोकेको छ । कतारले शनिबारदेखि लागू हुनेगरी परिमार्जित कानुन नं १७, २०२० अनुसार यो सुविधा घोषणा गरेको हो ।

कतार सरकारको सो घोषणासँगै अबदेखि सबै कम्पनीले न्यूनतम १ हजार रियाल तलब तथा अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ । अब कतार रोजगारीमा जाने कामदारको तलब सुविधा १ हजार रियाल भए मात्र श्रम स्वीकृति जारी हुनेछ ।

कम्पनीहरूले सोहीअनुरुप श्रमिकसँगको रोजगार करारमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ । खाना तथा आवास बापतको रकम छुट्टै उपलब्ध गराउनुपर्नेछ । नयाँ कानुनअनुसार खानाबापत ३ सय रियाल तथा आवास सुविधा उपलब्ध नगराइएको भए थप ५ सय रियाल प्रतिमहिना श्रमिकलाई दिइने व्यवस्था गरिएको छ ।

सन् २०२० को सेप्टेम्बरमा मन्त्रालयले ६ महिनाको समयावधि राखेर नयाँ कानुन जारी गरेको थियो । कतारको सो घोषणालाई आईएलओलगायतका संस्थाले ऐतिहासिक भन्दै स्वागत गरेका थिए ।

खाडी क्षेत्रमा कतार न्यूनतम ज्याला तोक्ने पहिलो मुलुक हो । ६ महिनाअगाडि गरिएको सो घोषणापश्चात् कतारले रोजगारदाता तथा श्रमिकहरूका लागि विविध भाषामा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको सो मन्त्रालयको भनाइ छ ।

श्रम मन्त्रालयले नयाँ व्यवस्थाले श्रमिक र रोजगारदाताबीच असल श्रम सम्बन्ध निर्माण हुने र यसले कतारको श्रम बजारलाई थप व्यवस्थित तथा उत्पादनमूलक बनाउने अपेक्षा गरेको छ ।

Facebook Comments Box
Share This
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares