कोरोना खोप आज नेपाल आउने

कोरोना खोप आज नेपाल आउने

काठमाडौ । भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो चरणको मात्रा बिहीबार नेपाल आइपुग्नेछ ।

नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी गराएका हुन् ।

उनले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिए । उनले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने बताएका छन् ।

मन्त्रालयका अनुसार भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । कोरोनाविरुद्धको खोप आयातका लागि कानुनी, प्राविधिक र आर्थिक तयारीसमेत पूरा भएकाले पहिलो चरणमा खोप आएपछि क्रमशः दोस्रो, तेस्रो चरणमा समेत खोप आउने जनाइएको छ  ।

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराइने भएको छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares