आयल निगम अब ईआरपीमा जाँदै

आयल निगम अब ईआरपीमा जाँदै

काठमाडौ  । नेपाल आयल निगमले तीन महिनापछि अर्थात बैशाखदेखी इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ । आगामी वैशाखमा प्रारम्भिक अभ्यासको तयारी भएको निगमले जनाएको छ ।

ईआरपी प्रणालीको वैशाखमा प्रारम्भिक अभ्यास गरी साउनदेखि पूर्ण रूपमा लागू गरिने बताइएको छ । निगमका अनुसार त्यसका लागि सफ्टवेयर निर्माण लगायतका प्राविधिक काम भइरहेको छ ।

नियोटेरिड नियो सफ्टवेयरले सफ्टवेयर निर्माण लगायतका प्राविधिक काम गरिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। ईआरपी प्रणालीमा जान निगमले २५ करोड रुपियाँ खर्च गर्न लागेको छ ।

अनलाइनबाट अनुगमन तथा नियमन र निगमलाई पेपरलेस बनाएर प्रभावकारी काम गर्न ईआरपी प्रणालीमा जान लागिएको प्रवक्ता उपाध्यायले जनाए । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानी न्यूनीकरण गर्न पनि निगमले यो स्वचालित प्रणालीबाट काम गरिनेछ ।

ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जीपीएस प्रणालीमा लैजाने छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुने जनाइएको छ ।

यससँगै ट्याङ्करको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्याङ्करलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याङ्करलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण प्रवक्ता उपाध्यायको दाबी छ ।

सुरक्षा र निगरानी बढाए पनि पेट्रोलियम पदार्थको चोरी, नोक्सानी र मिसावटको चुनौतीबाट मुक्त हुन नसकेपछि निगमले ईआरपी प्रणाली लागू गर्न लागेको हो । ढुवानी गरेको ट्याङ्कर अपहरण हुनेदेखि एकल ताला तोड्ने काम व्यवसायीबाट भएपछि निगमले बलियो सुरक्षाका रूपमा ईपीआर प्रणाली अपनाउन थालेको हो । यो खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share