June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

भारतले सीमा विवादबारे कुरा ननिकाल्ने, खोपबारे मात्र छलफल गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १ माघबाट तीन दिन भारत भ्रमणमा जाँदै छन् । उक्त भ्रमणका क्रममा छलफल हुने मुद्दामा नेपालले सीमाको एजेन्डालाई राखेपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने जनाएको छ । भारतले यसपटकको भ्रमणमा कोभिड १९ विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने देखिएको छ ।

Advertisement

विवादित सीमाका बिषयमा भारतले यसपटक कुनै छलफल नगर्ने भएको हो । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत् छलफलको एजेन्डामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय पनि जनाएको छ ।

हालको सरकारलाई चुनावी सरकार मानेर सीमा जस्तो संवेदनशील विषयमा कुराकानी नगर्ने भारतीय पक्षको सोच रहेको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र फिर्ता ल्याउने बारे कुराकानी हुने बताएका थिए । उनले उक्त क्षेत्र फिर्ता ल्याएर देखाउने बताएका थिए । तर, भारतले ओली सरकारलाई चुनावी सरकार मानेर सीमाको विषयमा कुनै छलफल नगर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरी संसदबाट निशान छाप पारित गरिसकेको छ । यो कदमप्रति भारत असन्तुष्ट छ । कोरोना भाइरसविरुद्धको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन अनुदान र कम शुल्क दुवैमा दिनेबारे गम्भीर छलफलमा भारतको तयारी बढी रहेको बुझिएको छ ।

भारतले छिमेकमध्ये नेपाललाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप प्रदान गर्ने तयारी गरेको छ ।