June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

भैँसेगौंडामा भेटिए ११५ प्रजातिका चरा : जनवरी २ तारीखबाट चरा गणना थालिने

काठमाडौं, २४ पुस ।   मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा ११५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा ११५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको हो ।

Advertisement

चराको अध्ययन अनुसन्धान गर्न आयोजित १९ दिने वन्यजन्तु अनुसन्धान विधि तालीममा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने १३ जना सहभागीले प्रत्यक्षरुपमा चरा, पुतली आदिको अध्ययन एवं अवलोकन गरेका थिए । “तालीमका क्रममा सहभागीले जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधि आदिबारे जानकारी प्राप्त गरेका छन्”, प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले भन्नुभयो, “सहभागीलाई चरा, पुतली एवं स्तनधारी प्राणी सम्बन्धमा जानकार विषय विज्ञबाट पनि अध्यापन गराएको थियो ।”

कोरोना महामारीलाई दृष्टिगत गर्दै संस्थाले तालीमपूर्व सहभागीको पिसिआर परीक्षण गरेको थियो भने तालीम अवधिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गरिएको थियो । संस्थाका तर्फबाट नौ वर्षदेखि तालीम आयोजना गर्दै आएको जानकारी दिँदै आचार्यले यसअघि पर्वतको चित्रे र नवलपरासीमा तालीम सम्पन्न भइसकेको बताउनुभयो ।

अघिल्लो वर्ष भैँसेगौंडामा गरिएको लाटोकोसेरो महोत्सवले यस स्थानको गरिमा र महत्वलाई बढाएको बताउने मिलेनियम भैँसेगौंडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङ वन्यजन्तु अनुसन्धान तालीमले यहाँको पर्या–पर्यटनको विकासमा अझै योगदान पु¥याएको बताउनुहुन्छ । “भैसेगौंडा मात्र नभई समग्र सहस्राब्दी पदमार्गमा चरा पर्यटनका धेरै सम्भावना रहेको कुरा पुष्टि भइसकेको छ”, उहाँले भन्नुभयो, “चरा पर्यटनको सम्भावनालाई उजागर गर्न पोखरा पक्षी समाजसँगको सहकार्यमा चरा गणना कामलाई पनि जारी राखिएको छ ।”

पदमार्ग क्षेत्रमा गरिएको हालसम्मको अध्ययनबाट १३७ प्रजातिका चरा पाइएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । सहस्राब्दी पदमार्गमा ५२ किलोमिटर वन क्षेत्र रहेको छ । यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्रा मार्गका विभिन्न स्थानमा पर्याप्त सङ्ख्यामा देख्न सकिन्छ ।

पदमार्ग क्षेत्रमा संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका चरा पदमार्ग क्षेत्रमा भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला, पौरी वाज, बौडाइ, कालो चिल, काकाकुल, बनवाज, मोरङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कण्टे सुगा, मधुवा, ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेचरालगायतका प्रजातिका चरा भेटिएका छन् ।

भैँसेगौंडामा मात्रै ११५ प्रजातिका चरा पाइनुले यहाँको पर्यटकीय विकासमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । भैँसेगौंडा नजिकै रहेको राङभाङ (ओढार)लाई पनि पर्यटनसँग जोड्ने लक्ष्यका साथ स्थानीयवासी लागेका छन् । कुनै समय भूतेभ्वाङका रुपमा परिचित स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ३ स्थित रहस्यमय भ्वाङलाई स्थानीयवासीले राङ्भाङ भन्दै आएका छन् ।

सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङ्भाङ युवा क्लबले सक्रियता देखाएको छ । क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बूढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्दथे । भ्वाङको संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उहाँले जानकारी दिनुभयो । केही युवाले डोरीको सहायताले भ्वाङमा प्रवेश गरी विसं २०७० मा अध्ययनको प्रयास गरेका थिए ।

अघिल्लो वर्ष क्लबका अध्यक्ष गुरुङसहितको टोलीले गुफामा डोरीका सहायताबाट पसेर त्यहाँको स्थलगत अवलोकनसमेत गरेको छ । गुफाभित्र वर्षांैदेखि फोहोर फालिएको पाइएको बताउँदै गुरुङले यसको सरसफाइ गरी आगामी दिनमा पर्यटकीय स्थलरुपमा उपयोग गरिने बताउनुभयो ।

उहाँका अनुसार डोरीको सहयताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिने हुँदा यसलाई साहसिक पर्यटनका रुपमा उपयोग गर्न सकिने देखिएको छ । “भ्वाङबाट ९० फिट तल झरेपछि त्यहाँ फोहरसहितको ठूलो माटाको थुप्रो रहेछ”, अध्यक्ष गुरुङले भन्नुभयोे, “त्यहाँबाट अझै १५ फिट तल झरेपछि दायाँ एवं बायाँतर्फ दुईवटा मानिस छिर्न सक्ने अरु प्वाल पनि रहेछन् ।” बूढापाकाले त्यहाँभित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जङ्गलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने बताउँछन् । अहिले भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचका साथ राङ्भाङ स्थायी बसोवास भई हाल हङ्कङमा पेशा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा तारबार गरिसकिएको छ । चरा पर्यटनसँगै यहाँको साहसिक पर्यटनको सम्भावना बोकेको गुफा आदिलाई समेट्दै यहाँ आउने पर्यटकका लागि मिलेनियम भैँसेगौडा सामुदायिक होमस्टमा खान र बस्न सक्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यसैवीच चरा गणना आइतबारदेखि
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो ।

मौसम खराब भएपछि मध्ये जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो । गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ । कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ । बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उहाँले जानकारी दिनुभयो ।

बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ । यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ । जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ । पचासभन्दा बढी गणक सहभागी हुने बिडारीको भनाइ छ ।

छ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ । गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो सङ्ख्या ८८७ रहेको छ । चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ । उहाँका अनुसार रु एक लाख ८० हजार हाराहारी गणनामा खर्च गरिँदै छ । डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ ।

यो समय टाढा टाढाबाट जाडो छल्न यहाँ चरा आउने गर्दछन् । बिडारीका अनुसार साइबेरीया, अष्ट्रेलियालगायतका देश र ठाउँबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातीका हुने बिडारीको भनाइ छ । ती चरा पानीमा आश्रित हुने गर्दछन् । हिउँका कारण खान नपाएपछि चरा आउने गर्दछन् । सगरमाथा माथिबाट उडेर खोया हाँस आउने गर्दछ ।

गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरिन्छ । नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गण्ना गरिन्छ ।