January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

‘टान’को अध्यक्षमा बाँस्तोलाले उम्मेदवारी दिने

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले उम्मेदवारी दिने बताउनुभएको छ ।

पूर्वउपाध्यक्षसमेत रहनुभएका बाँस्तोलाले आगामी माघ २८ गते हुने टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उहाँ एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आउनुभएको छ ।

विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बाँस्तोला सन् २००२ मा टानको साधारण सदस्य बन्नुभएको थियो । सोलुखुम्बु घर भएका उहाँले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गर्नुभएको छ । बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्य समिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Advertisement