January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनीमा आज सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा उहाँले पार्टीलाई उचाइमा पु¥याउन र जनमत हासिल गर्न जनवर्गीय सङ्गठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

Advertisement

पार्टी बलियो बनाउन एमालेले जनवर्गीय सङ्गठनको अवधारणा ल्याएको उल्लेख गर्दै उपमहासचिव गुरुङले नेतृत्वले सङ्गठनको सही व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहनुभएका उहाँले साङ्गठनिक अराजकताले पार्टी कमजोर हुने भएकाले यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । पार्टीले लिएको राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको लक्ष्य पूरा गर्न यससँग जोडिएका जनवर्गीय सङ्गठन पनि सोहीअनुसार अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । “नीति सही हुँदाहुँदै पनि नेतृत्व सही भएन भने सङ्गठन सफल हँुदैन । नीति कार्यान्वयन गर्न दृढ सङ्कल्प भएको सक्षम नेतृत्व चाहिन्छ”, नेता गुरुङले भन्नुभयो ।

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले जनताको हृृदयमा पार्टीलाई स्थापित गर्ने काममा जनवर्गीय सङ्गठनको भूमिका हुनुपर्ने बताउनुभयो । राम्रा कामको प्रचार गरेर तीनै तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न जनवर्गीय सङ्गठनको भूमिका प्रमुख रहने उहाँले उल्लेख गर्नुभयो । एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले विगतका कमिजोरीबाट पाठ सिकेर सङ्गठनलाई एकताबद्ध बनाइ अघि बढ्न सुझाव दिनुभयो । ।

पार्टीका पोलिटब्युरो सदस्य एवम राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले राम्रा कामको प्रचारप्रचारमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई बलियो बनाउन सबैको एकता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो । बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ ।