January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन- पदाधिकारी संख्या १५ बनाउन प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताब गरेका हुन। उनले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका छन ।

Advertisement

हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ । कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको छ । बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले नियमित प्रक्रियाबाट हुने सहभागी संख्या १४ सय ८३ जनाको टुङ्गो लगाएको जानकारी दिए। प्रतिनिधि बन्नेको चाप बढेकाले कुल संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय बैठकले गरेको र यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको महराले जानकारी दिए । उनले १ सय ४८ जना मनोनित प्रतिनिधि हुने बताए।

यसअघि शुक्रबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका थिए। माओवादी स्थायी कमिटी बैठक शनिबार दिउसो पुनः बस्ने प्रवक्ता महराले जानकारी दिए।