October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

एमालेमा अब माधव नेपालको आवश्यक छैन- केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेका उनले बताए ।

Advertisement

काठमाडौँ जिल्लस्तरिय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलगायत नेताहरुले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका थिए । तर, यसरी नेपाललाई एमालेमै फर्किन आग्रह गर्नेहरुलाई अध्यक्ष ओलीले प्रतिप्रश्न गरेका छन् । उनले एमालेमा माधव नेपालको आवश्यकता नभएको प्रष्ट पारेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले भने,“केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईंको आवश्यकता छ । अब फुटाउनलाई आवश्यक छ उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यक छ माधव कामरेडको, त्यो बुझ्दिनँ ।”सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् ।

ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए । उनले भने, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल-जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

माधव नेपालले पार्टीमा गुटबन्दीमात्र गरेको र साढे ३ वर्ष सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए । “माधव नेपालले तीन वर्षमा पार्टीको पक्षमा र सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो ? सरकारको आलोचना र विरोध प्रतिक्रियावादीभन्दा चर्को,” उनले भने ।