September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

प्रचण्डको प्रधानमन्त्री देउवा र माधव नेपालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले मन्त्रिपरिषद् विस्तारसहित समसामयिक विषयमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको बताए । देउबा लाई भेटनु अघी नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो कारण बनेको सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

आज विहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेभित्र भइरहेको एकता प्रयासको बारेमा समेत जिज्ञासा राखेका थिए । नेपालले पार्टी एकताको प्रयास जारी रहे पनि केपी ओलीको नियत ठिक नभएको बताएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

प्रचण्डले अब मन्त्रिपरिषद विस्तार लामो समय रोकेर राख्न नमिल्ने भन्दै एमालेभित्रको अवस्था टुंगो लगाएर सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । शनिवार पनि नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर गएका थिए ।

गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए । निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकाले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा छन् ।