September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

जसपा आधिकारिकता विवाद: उपेन्द्र यादवको पक्षमा बहुमत- रेशम चौधरी पनि यादव पक्षमै

जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ ।

Advertisement

जसपाका ५१ जना कार्यकारिणी सदस्यमध्ये ३५ जनाले निर्वाचन आयोग पुगेर उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने भएका बतायिएको छ। जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका हुन् ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । ५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रूपमा जसपा यादवको भएको छ।

यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन्। केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा यादव पक्षमा लागेपछि महन्थ पक्ष झन् कमजोर बनेको छ ।

महन्थ पक्षले हेड काउन्ट रोकेर सर्वोच्च अदालतले साउन १५ मा बोलाएको सुनुवाइ सकिएपछिमात्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले ठाकुरको कुरा सुनुवाइ नगरी जसपाको आधिकारिकता टुंगो लगाउन लागेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ।

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ। आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्न लागेको हो।