September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

ओलीप्रति माधव नेपालको व्यंग्य: हिजो श्री ५ बडामहाराजधिराजबाट आममाफी घोषणा भयो, हामी गदगद भयौं !

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

Advertisement

शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’

कटाक्षपूर्ण भनाइमा नेपालले थपे, नेता नेपालले भने, “हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आम माफी दिइन्छ, एम्नेस्टी इज ग्रान्टेड, अनि हामी गद्गद् भयौँ, महाराजाधिराज, हामी गद्गद् भयौँ, वाह वाह वाह, महाराजाधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुसी हुनु पर्ने भयो, यही हो कम्युनिस्ट पद्धति ? स्पष्टीकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो । मेरो निवासअघि राति मोटरसाइकलमा आएका १५/२० जनाले तर्साउन खोजे तर माधव नेपाल तर्सिने मान्छे हो, फलामको जस्तो शरीर हुन्छ कम्युनिस्टको, त्यत्तिकै डराउँदैन ।”

नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे। ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो ?,’ उनले भने, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ? ’आफूले बोल्दा संयमता अपनाएको भए पनि ओलीबाट त्यस्तो नभएको वरिष्ठ नेता नेपालको भनाइ छ।

‘हिजो मैले एकतामा असर पर्ला भनेर कीर्तिपुरमा बोल्दा संयम भएर बोलें। दिउँसो भक्तपुरमा गएर पनि एउटा कार्यक्रम गरें त्यहाँ पनि संयम नै भएँ। तर, यता माधव नेपालको घर वरिपरि गएर बाँदरे प्रवृत्ति गर्ने देखियो,’उनले भने,’माधव नेपाललाई तर्साए तर्सिन्छ भन्न खोजिएको हो कि कसैका तर्साउने कामले केही हुँदैन।

कस्ता कस्ता त कहाँ गए कोही कसैको डरधम्की र त्रासले डराउँदैन। हामी विशेष धातुले बनेका हौं।’ ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।