October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

माधव नेपालले गल्ती नभई अपराध गरे- रामबहादुर थापा ‘बादल’

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीमा माधव नेपालले गल्ती नभई अपराध गरेको आरोप लगाएका छन्।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गरेर नेता नेपालले अपराध गरेको आरोप लगाएका हुन्। नेपालको नाम नलिई उनले भने, ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई विस्थापित गर्ने, पार्टीका कमरेडले गल्ती गर्नुभएको हैन अपराध नै गर्नुभएको छ ।’ उनले सर्वोच्च अदालतको परमादेशले देशमा निर्दलीय सरकार बनेको आरोप समेत लगाए।

उनले विचारबाट विचलित भएकाहरू बाहिरिएको भन्दै शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्ने बताए । सर्वोच्च अदालतको आदेशले देशमा निर्दलीय सरकार बनेको बादलले टिप्पणी गरे । ‘यहाँसम्म आइपुग्दाखेरी सर्वोच्च अदालतबाट बनेको कम्युनिष्ट पार्टीको सरकारबाट निर्दलीय सरकार बनेको छ,’ उनले भने, ‘निर्दलीय सरकार स्थापना भएको छ, लोकतान्त्रिक आन्दोलनमा गतिरोध पैदा भएको छ।’

Advertisement