September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

ओलीद्वारा नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफीको घोषणा

नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक आज बिहीवार सकिएको छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि आज भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । यसको सबै जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीको अनुशासन नमान्ने नेताहरूलाई पनि माफी दिन सकिने अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ । यसैबीच आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गर्नुभयो ।

Advertisement