September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने पुनले बताए ।

Advertisement

उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेकाे हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ। आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को-को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए । २५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।