October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक- माधव नेपालसहित २२ जनालाई आजै कारबाही गर्ने भन्दै सदस्यहरु द्वारा हुटिङ

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

Advertisement

तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो । पार्टीका २२ साँसदले फ्लोर क्रस गरेर देउवालाई हिजो मत दिएका थिए । आजको बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका बिषयमा व्यापक छलफल हुनेछ । स्थायी कमिटी बैठकले यसअघि पार्टीको निर्णय विपरित देउवाको पक्षमा मतदान गरेमा त्यस्ता साँसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपाल सहितका २२ जना साँसदलाई आजको केन्द्रीय कमिटी बैठकले कसरी सम्बोधन गर्छ भनेर चासोका साथ हेरिएको छ ।

बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।

सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारवाही गर्न नमिल्ने भनेको छ । तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ । सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारीबाट हटाउने र सदस्यबाट समेत हटाउन सक्ने एमालेको दावी छ ।

यी हुन् कारवाही प्रस्ताव गरिएका २२ जना

माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन