September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

प्रचण्डले भने- माओवादी केन्द्र आगो हो,आगोसँग खेल्ने कोशिस नगर्नुस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताउनुभएको छ । आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताउनुभयो ।

Advertisement

प्रचण्डले नेकपा माओवादी केन्द्र आगो भएको कारण आगोसँग नखेल्न एमाले अध्यक्ष केपी ओलीसहित एमालेलाई चेतावनी दिनुभएको छ । माओवादी फुटेको छ, यो कमजोर भएको छ भन्ने नठान्नुहोला भन्दै उहाँले माओवादी आगो भएको कारण आगोलाई छुने कोशिस नगर्न चेतावनी दिनुभएको हो । सवै नेपाली जनताको आवाजको प्रतिनिधि भएको कारण उहाँले उक्त पार्टीलाई दबाब दिने कुरा नसोच्न समेत आग्रह गर्नुभयो ।

केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताउाँद्यै उहाँले भन्नुभयो, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’

अध्यक्ष प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गर्नुभयो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पार्नुभयो ।

एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिनुभयो ।

संसदमा प्रचण्डको सम्बोधनको अंश 

जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो, र प्रस्ताव लिएर गयो, त्यो मान्छेले बोल्नुपर्दा पार्टी एकता गरौँ, देशमा कम्युनिष्टहरुको राम्रो पकड छ, ठुलो उभार आउला र देशमा विकास आउला, समृद्धितिर देश लैजान सकिएला भनेर एकताको प्रस्ताव राख्ने मान्छेले आज दोस्रोपटक पुनःस्थापित भएको सदनको अगाडि उभिँदा मेरो अनुभूति कस्तो भएको होला भन्ने माननीय सदस्यहरूले बुझ्नुभएकै होला ।

यस्तो दुर्दशा यति छिटो देख्न पर्ला भन्ने लागेको भए मैले किन गठबन्धनको प्रस्ताव लैजान्थे होला । किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला । त्यसकारण मैले यहाँ, अहिले पनि मलाई त्यति स्वाभाविक लागिरहेको छैन यो बीचमा पनि । यी विषयमा कुराहरू भन्नुभन्दा अगाडि नै के भन्न चाहन्छु भने अस्ति प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम वा नियुक्तिको सम्बन्धमा राष्ट्रपति कार्यालयमा केही अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा, जो संविधानको मर्म र भावना विपरीत थियो । र, शपथग्रहण नै रोकिएको थियो, त्यो आफैमा त्यस्तो खालको पटकपटक हुने कुरा थिएन ।