September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

एमाले कार्यदलको बैठक बस्दै- माधव नेपाल भेट्न भीम रावल कोटेश्वरमा

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको कार्यदल बैठक आज पनि बस्दैछ ।

Advertisement

वार्तास्थल सिंहदरबार आएर माधव नेपाल पक्षको कार्यदल संयोजक भीम रावल नेता नेपाल भेट्न कोटेश्वर पुगेका छन् ।  संस्थापन पक्षका कार्यदल सदस्यहरू सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका  सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भने सिंहदरवारमा छन् । यसअघि बिहान सिंहदरवारमै विष्णु पौडेल र भीम रावलबीच वार्ता भएको थियो ।

सिंहदरवारमा केहीवेरपछि बस्ने बैठकले सहमतिको थप प्रयास गर्ने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। हिजो बुधबार साँझ भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको एक्लाएक्लै र सामुहिक संवादपछि वातावरण थप सकारात्मक बनेको विश्वास पलाएका बेला कार्यदल स्तरमा आज सहमतिको प्रयास गर्न लागिएको नेता पाण्डेले बताए ।

आन्तरिक विवाद मिलाउनेक्रममा दुवै पक्षका आफ्ना अडान र रिजर्वेसन रहेकाले त्यसमा मिलनविन्दु खोज्न केही समय लागेको हो नेता पाण्डेले भने , “आजको बैठकमा विषयकेन्द्रित छलफल हुन्छ, सकेसम्म सहमतिको वातावरण बनाउने हाम्रो कोसिस रहन्छ ।”

कार्यदलले सहमतिको मस्यौदा तयार गरेको बताए पनि त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच सहमति बन्न सकेको छैन । दुवै नेताको अडान र चासोको विषयलाई लिएर आज पुनः कार्यदलमा गृहकार्य गरेर सहमतिका लागि अध्यक्ष र नेता नेपालबीच छलफल गराउने तयारी कार्यदलको रहेको नेता पाण्डेले जानकारी दिए।