September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र ओली- प्रचण्ड

बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनले  शिक्षा, रोजगारी र स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता गर्न  माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् ।

Advertisement

बुधबार  विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा ओली र आफूहरू कुनै पनि कोणबाट उस्तै नभएको स्पष्ट पार्दै विगतदेखिका नेपाली इतिहासका तथ्य र प्रमाणहरूले प्रस्ट गरेको बताए ।

सम्पूर्ण रूपमा आत्मसमर्पण गर्ने केपी शर्मा ओलीका विरुद्ध विद्रोह गर्ने हामी र उनी उस्तै हुनै सक्दैन । २०१७ सालतिर केशरजंग रायमाझीले सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका लागि लडे । दुबैलाई उस्तै भन्ने त ?’, प्रचण्डको प्रश्न थियो । उनले विद्यार्थीको प्रतिगमन विरोधी आन्दोलनमा आफूहरूको पूर्ण समर्थन रहेको भन्दै नेपाली जनतालाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खलपात्र केपी ओली बनाइएको बताए ।ओली चारैतिर घेरामा परिसकेको भन्दै आफूहरू बलियो बन्दै गएको स्पष्ट पारे ।

अध्यक्ष ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट रन्जित तामाङ, सुदेश पराजुली, विमल पोखरेल, राजिव ढुंगाना र रूपनारायण श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन्।

‘नेपालको संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यस अनुसार संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ।’संविधान प्रदत्त मौलिक हक कार्यान्वयन गर्नुको सट्टा ओली सरकार उल्टो दलाल, कमिशनखोर र माफियाहरूको चङ्गुलमा डुबेर अधिकार कुण्ठित पार्न उद्धत रहेको उल्लेख छ ।