September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

होटल मेरियटमा ओली-नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

Advertisement

वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् । सुरक्षा स्रोतका अनुसार नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । खासगरी संसद विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् ।

पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त  वक्तव्य निकाल्ने तयारी पनि छ ।