नेपाल समूहको निष्कर्षः कारबाही नमान्ने, अर्को पार्टी पनि नबनाउने

नेपाल समूहको निष्कर्षः कारबाही नमान्ने, अर्को पार्टी पनि नबनाउने

काठमाडौं । नेकपा एमालेको नेपाल समूहले दुईजना नेताहरुलाई गरिएको कारबाही अस्वीकार्य भएको बताएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने नेपाल समूहको निष्कर्ष छ ।

अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसको भोलिपल्ट मंगलबार बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।

‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भर्त्सना गर्दर्छौं ।’

अध्यक्ष ओली आफैं पार्टी विधान विपरित चलेको भन्दै नेपाल समूहले उनले गरेको कारबाही नमान्ने बताएको छ । ‘हामी उहाँले जतिसुकै मान्छेलाई कारबाही गरेपनि त्यो हामी मान्दैनौं । किनकी उहाँले गरेको कारबाहीलाई नेकपा एमालेको विधानले चिन्दैन,’ बैठकपछि उपाध्यक्ष युवराज ज्ञवालीले भनेका छन् ।

आफूहरुको सांगठनिक र वैचारिक गतिविधि विना रोकटोक कायम रहने उनले जानकारी दिए । यद्यपि नयाँ पार्टी नबनाउने ज्ञवालीले प्रष्ट पारेका छन् ।

‘सांगठनिक जीवनमा अलगअगग ढंगले क्रियाकलाप अगाडि बढेका छन् । तर त्यो फुटको तहसम्म पुगेको छैन,’ उनले भने, ‘भविष्यमा के हुन्छ भन्ने केपी ओलीजीका क्रियाकलापमा भरपर्छ ।’

Facebook Comments Box
Share This
  • 277
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    277
    Shares