प्रधानमन्त्रीको प्रवेशसँगै प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए

प्रधानमन्त्रीको प्रवेशसँगै प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका छन् ।

एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए । ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए । ‘हामी हस्ताक्षर गरेर फर्कियौं । हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो’, सांसद बेदुराम भुसालले भन्नुभयो।

संसद् विघटन गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नरहेकाले बहिष्कार गरेको उहाँले बताउनुभयो । गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ । यो अवधिमा चार पटक गरी सात घण्टा पाँच मिनेट बैठक चल्यो । यसैवीच राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आज अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सोहीअनुसार उहाँले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गर्नुभयो ।

चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।
यसअघि बैठकमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य दिनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेश गर्नुभएको थियो ।

Facebook Comments Box
Share This
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares