January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

जलवायुजन्य विपद्का कारण सन् २०२१ मा अर्बौँ डलरको आर्थिक नोक्सानी

काठमाडौं । सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ । हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर कम्तीमा १० वटा मौसमी अति विषमका घटना भएका छन् ।

Advertisement

प्रतिघटना एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको पाइएको छ । अमेरिकामा गएको अगस्टमा आएको आइडा आँधी तथा जुलाईमा युरोपमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ ।

बाढी तथा आँधीले तुलनात्मक रुपमा गरिब देशमा गम्भीर असर पारेको अध्ययनको निष्कर्ष छ । गरिब देशका नागरिक विस्थापित हुनुपरेको छ भने जनजीवनमा ठूलो असर पारेको पाइएको छ । दक्षिणी सुडानमा बाढीका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएको तथा भारत, श्रीलङ्का र माल्दिभ्समा ताउते आँधीबाट दुई लाख मानिस विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आईपीसीसीले यसअघि सार्वजनिक गरेको विवरणमा पनि विश्वभर जलवायुजन्य विपद्का घटना बढेको उल्लेख गरेको थियो । साथै विश्वभरि नै चरम मौसमी गतिविधि, बाढी, पहिरो, वर्षा, खडेरी, अनियन्त्रित डढेलोका घटनाहरू बढेको र त्यस्ता घटना अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।