होम स्टे व्यवसायले महिलाको जीवनमा परिवर्तन
बागलुङ, । प्राय घरेलु काममा मात्रै लागिरहने बागलुङका महिलाको जीवनस्तर होम स्टे व्यवसायका भिन्नता आएको छ । घरको काम एवम् मेलापातमा मात्रै सीमित हुँदा आर्थिक संकट भोग्दै आएका यहाँका महिला घरबास सञ्चालनसँगै आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।
घरबासले आर्थिक सामाजिक जीवनमै परिवर्तन ल्याएको घरबासका महिला सञ्चालकहरू गर्वका साथ सुनाउँछन् । बागलुङ जिल्लामा सञ्चालित २८ सामुदायिक होम स्टे व्यवसायमा महिलाको सक्रियता बढी छ ।
घरबास सञ्चालनसँगै महिलाहरूले स्थानीय पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याएका छन् । शुरूमा घरबास सञ्चालनबारे अनभिज्ञ रहेका महिलाले अहिले आफ्नै नेतृत्वमा होम स्टे व्यवसाय चलाएका छन् ।
श्रीमान् र परिवारका सदस्यको भरमा पर्ने महिला घरबास सञ्चालनपछि आर्थिक रूपमा समेत सबल बन्दै गएको र गाउँलाई फरक पहिचानले चिनाउन सफल भएको जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुंगा सामुदायिक घरबासका सञ्चालक माया श्रीसले बताइन् ।
होम स्टे व्यवसायले आन्तरिक पर्यटक बढाउँदा आयआर्जनका साथै घरबास नजिकै रहेको पर्यटकीय स्थल बेलढुंगाको प्रचार प्रसार भएको उनको धारणा छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।