June 22, 2021, Tuesday
८ असार २०७८, मंगलवार

विमानस्थल विस्तारका लागि विस्थापित भएकाहरूद्वारा विराटनगरमा संघर्ष समिति गठन गरे

विराटनगर । विराटनगरमा विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन १२६ बिघा जमीन अधिग्रहण गर्दा पर्ने घर, घडेरी तथा जमीनवालाहरूको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहलका लागि सोमवार १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

Advertisement

महानगरपालिका–४ मा रहेको विमानस्थल चारैतिर विस्तार हुँदा उक्त वडाका करीब ३०० घरपरिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको ‘बाउण्ड्री सर्भे’ सम्पन्न गरेको छ ।

विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउन विराटनगर विमानस्थल पीडित संघर्ष समिति गठन गरिएको जनाइएको छ । “विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षौंदेखि बसोवास गर्दै आएका सर्वसाधारण घरबारविहीन बन्नुअघि नै राज्यबाट उचित क्षतिपूर्ति पाउन र उनीहरू अहिले बसोवास गरेजत्तिकै स्थानमा घरजग्गा जोडेर बस्न सक्नेगरी क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नुपरेको हो ।”, संघर्ष समितिका सदस्य रेवतबहादुर खड्का बताउँछन् ।

खड्काले भने, “कहिलेसम्म मुआब्जा दिएर घरजमीन खाली गर्नुपर्ने हो, त्यसको मिति स्पष्ट गर्नुपर्ने, क्षतिपूर्तिका आधारहरू स्पष्ट पार्नुपर्ने, आधा घर र आधा जमीन मात्र परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायत विषय स्पष्ट पार्न समितिले पहल गर्नेछ ।” यो खबर आजको आर्थिक अभियान दैनिकमा रहेको छ ।