विनियोजित बजेटको पुँजीगत खर्च अत्यन्त कम

विनियोजित बजेटको पुँजीगत खर्च अत्यन्त कम

पौष १३ । नेपाल सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को बितेका साढे पाँच महिनामा ३९ अर्ब २४ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको देखिन्छ ।

सरकारले चालु आवका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ । पुँजीगत खर्चमध्ये ११ दशमलव १२ प्रतिशत मात्र खर्च गरेको सरकारले विनियोजित बजेटको लक्ष्य भेट्न अबको करिब साढे ६ महिनाभित्र ८८ दशमलव ८८ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने हुन्छ । हाल मुलुकमा देखिएको प्रतिनिधिसभा विघटनलगायत राजनीतिक अस्थिरताका कारण आगामी दिनमा पुँजीगत खर्च हुन नसक्ने अवस्था उत्पन्न भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आगामी वैशाखमा घोषित निर्वाचनका कारण मुलुकको विकास निर्माणका काममा अवरोध पुग्ने भएकाले पनि लक्ष्यअनुरूप पुँजीगत खर्च गर्न मुस्किल पर्ने शंका व्यक्त गरेका छन् ।

सरोकारवालाका अनुसार चालु आवमा भएको पुँजीगत खर्च प्रतिशतका हिसाबले बढी देखिए पनि खर्च आकारका हिसाबले यो निकै कम हो । गत आर्थिक वर्षको सो अवधिसम्म ९ दशमलव शून्य ८ प्रतिशत अर्थात् ३७ अर्ब ५ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको थियो । सरकारले गत आवका लागि कुल ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेको थियो । गत आवका लागि कम पुँजीगत खर्च वितरण गरेकाले प्रतिशतमा बढी देखिएको हो । कोरोना भाइरस महामारीको प्रभावले मुलुकको आर्थिक गतिविधिमा संकुचन आएसँगै चालु आवको गत ११ पुससम्ममा पुँजीगत खर्च पनि हुन नसकेको हो । कोरोना महामारीको प्रभावका कारण विगतका वर्षमा जस्तो मुलुकको विकास निर्माणका कामले गति लिन नसक्दा पुँजीगत खर्च कम भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा रहेको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share