निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै प्रचण्ड- नेपाल पक्ष आयोगमा

निर्वाचन कार्यक्रम अघि नबढाउन भन्दै प्रचण्ड- नेपाल पक्ष आयोगमा

काठमाडौं ।  निर्वाचन कार्यक्रम अगाडि नबढाउन भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ । अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेकपाका नेताहरू सोमबार दिउँसो आयोग पुग्नु भएको हो ।

प्रमुख निर्वाचन आयुक्तलाई निर्वाचन कार्यक्रम अगाडि नबढाउन ज्ञापनपत्र बुझाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिनुभयो । नेताहरु राजेन्द्र पाण्डे, मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, रामनारायण बिडारी, कृष्णभक्त पोखरेललगायतलाई निर्वाचन आयोगसँगका गतिविधि हेर्ने जिम्मा दिइएको थियो ।अध्यक्षद्वयसँग  नेताहरू पनि आयोगमा उपस्थित छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदातलमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरेको पोखरेलले बताउनुभयो । निर्वाचन आयोगले प्रचण्ड नेपाल र ओली पक्षलाई ७ दिनभित्र अध्यावधिक विवरण पेस गर्न भनेको थियो ।

साथै आयोगले दुवै पक्षबाट आयोगमा गरिएका पत्राचारमा उल्लेखित निर्णयहरू विधानको व्यवस्थासँग मेल नखाएको भनेको छ । आयोगले पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने विधानको व्यवस्थातर्फ ध्यानाकर्षण गराएको छ ।

विधानको धारा १८ (छ) को ८ मा रहेको पार्टीको आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुने व्यवस्था कार्यान्वयन नभएको आयोगले इंगित गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गर्नुभएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने बताएको छ । तर प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको छ ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares