प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता , भीम आचार्यलाई प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता , भीम आचार्यलाई प्रस्ताव

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको हो ।उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्। आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।

पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्।यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए । बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

Share This
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares