जाडोमा छालाको हेरचाह गर्ने १४ तरीका

जाडोमा छालाको हेरचाह गर्ने १४ तरीका

हरेक मौसममा र सधैंभरि छालाको हेरचाह गर्नुपर्दछ । तर, जाडोमा भने छालासँग सम्बन्धित धेरै समस्याहरू आउने गर्छन्, जसकारण जाडोमा छालालाई थप हेरचाह चाहिन्छ ।

केही घरेलु उपायको अवलम्बन गरेरै तपाईंले जाडोमा आफ्नो छालालाई सुन्दर तथा स्वस्थ राख्न सक्नुहुन्छ । तर, त्योभन्दा पहिले तपाईंले आफ्नो छाला कस्तो किसीमको छ भनेर थाहा पाउन आवश्यक हुन्छ ।

सामान्यतः छाला ४ किसीमका हुन्छन् ।

  • चिल्लो (Oily)
  • सुख्खा (Dry)
  • मिश्रित (Mixed)
  • सामान्य (Normal)

छालाको प्रकार अनुसार हेरचाह गर्ने फरकफरक तरिका हुन्छ ।

यो जाडोमा हरेक किसिमका छालाको हेरचाह यसरी गर्नुहाेस्ः

  • जाडोमा छाला एकदम सुख्खा र निर्जीव हुन्छ । यसको लागि भिटामिन ई भएको मोस्चरइजर प्रयोग गर्नुपर्छ । सफा पानीले अनुहार धुनुहोस् र दिन एवं रातमा ३-४ पटक राम्रोसँग मोस्चराइजर लगाउनुहोस् ।
  • चिसो हुने बित्तिकै मानिसहरू तातो पानीले नुहाउन थाल्छन् । तर, तातो पानीले छालामा सुख्खा र फुस्रो बनाउँछ । त्यसैले पानीको तापक्रममा ध्यान दिइ धेरै तातो पानी प्रयोग नगर्नुहोस् ।
  • जाडोमा सकेसम्म साबुनको प्रयोग नगर्नुहोस्, गर्नैपरे पनि अत्यन्त कम गर्नुहोस् । यदि छाला सुख्खा छ भने स्क्रबिंग गर्न पनि छाड्नुहोस् किनकि यसले छालाका छिद्रहरु (पोर्स) त खोल्दछ तर, छाला पनि रुखो बनाउँछ । यदि छाला चिल्लो छ भने चाहीँ स्क्रब गर्नुहोस्, यसले छालामा भएको तैलियपन घटाउँदछ ।
  • जाडो मौसममा छालालाई नरम तथा मुलायम बनाउन दही र चिनी मिसाएर अनुहारमा राम्रोसँग लगाउनुहोस् र केही बेर सुक्न दिनुहोस् । त्यसपछि हल्का हातले मालिश गर्नुहोस् र यसलाई मनतातो पानीले धुनुहोस् ।
  • गर्मीमा प्राय मानिसहरूले सनस्क्रीन प्रयोग गर्छन् तर जाडोमा यसको आवश्यकता बुझ्दैनन् । जबकि सूर्यका किरणहरूले जाडोमा छालामा सबैभन्दा बढी हानी पुर्‍याउँछ । जाडोमा पाएसम्म घाम ताप्छौं जसले छाला डढाउँछ र निर्जिव बनाउँछ । यसबाट जोगिन जाडोमा पनि सनस्क्रीनको प्रयोग गर्नु महत्त्वपूर्ण छ ।
  • जाडो वा गर्मीयाम, सधैं प्रशस्त पानी पिउनुहोस् । यसले शरीरमा पानीको कमी हुँदैन । शरीरमा पर्याप्त पानी छ भने छाला मर्दैन र चमक सँधै रहीरहन्छ ।
  • छाला नरम र स्वस्थ राख्न नरिवलको तेल प्रयोग गर्नुहोस् । नरिवलको तेल केबल कपालको लागि मात्र उपयोगी हुँदैन । नुहाउनु अघि नरिवलको तेलले शरीर र अनुहारको मालिश गर्नुहोस् । यसले छालालाई कहिल्यै रुखो हुन दिँदैन ।
  • ग्लिसरीन, कागती र गुलाबजलको ३-४ थोपा मिसाएर एउटा सिसामा भर्नुहोस्। यो मिश्रण हरेक रात सुत्नु अघि अनुहार र शरीरमा लगाउनुहोस् र बिहान नुहाउनुहोस् ।
  • यदि हातको छाला एकदमै सुख्खा छ भने कागतीमा चिनी मिसाएर हातमा लगाउनुहोस् । मह र कागती मिसाएर लगाएर आधादेखि एक घण्टा राखेर सफा पानीले धुँदा पनि छाला नरम हुन्छ ।
  • अण्डा र महको मास्क बनाएर अनुहारमा लगाउँदा छाला नरम हुनुका साथै स्वस्थ पनि बनाउँछ । यसको लागि अण्डामा थोरै मह राख्नुहोस् र अनुहारमा लगाउनुहोस् । यसलाई हात र घाँटीमा पनि लगाउन सक्नुहुन्छ । त्यसपछि एक वा दुई घण्टा त्यसलाई सुक्न दिएर नुनपानीले धुनुहोस् ।
  • मौसम जस्तोसुकै भए पनि छालाको हेरचाहका लागि सन्तुलित खाना खानु सबैभन्दा महत्त्वपूर्ण छ । दैनिक रूपमा पर्याप्त पानी पिउनुहोस् । मौसमी फल तथा तरकारीहरू खानुहोस् । जाडोयाममा आफ्नो साबीकको खानामा गाँजर, पालक, मेथी, सर्सिउँ, कागतीलगायत पनि समावेश गर्नु उपयुक्त हुन्छ ।
  • प्राकृतिक रुपमै सुख्खा छाला हुने व्यक्तिहरुको छाला जाडोमा धेरै नै रुखो हुन्छ । दुध सुख्खा छालाका लागि सबैभन्दा उत्कृष्ट टनिक हो । तपाईंले दुधलाई फेसमास्कका रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । अनुहारमा लगाएर करिब एक घण्टापछि नुनपानीले धुनुहोस् । यदि तपाईंले दैनिक यसको प्रयोग गर्नुभयो भने छोटो समयमै यसको असर देख्न सक्नुहुनेछ ।
  • जाडोयाममा ध्यान दिनुपर्ने अर्को महत्त्वपूर्ण कुरा भनेको छालालाई चिसोसँग सिधा सम्पर्कमा आउन दिनु हुँदैन । शरीरको अन्य अंगका छालाहरु लुगाले ढाकिने भएपनि अनुहारको छाला भने उदांगै हुन्छ । त्यसैले सकेसम्म यसलाई पञ्जा लगाएको हात, हाइनेक वा स्कार्फले ढाक्नु राम्रो हुन्छ । जाडोमा पेट्रोलियम जेली, बडी बटर लगाएर पनि छालालाई चिसोसँगको सिधा सम्पर्कमा आउनबाट जोगाउन सकिन्छ ।
  • २ चम्चा महमा एक चम्चा बटर र थोरै कागतीको रस हालेर फेस प्याक बनाउनुहोस् र अनुहारसहित हात र घाँटीमा पनि लगाउनुहोस् । यसलाई आधा घन्टा छोड्नुहोस् र मनतातो पानीले धुनुहोस् । यो विधि दैनिक अपनाउनु भयो भने छाला नरम र स्वस्थ मात्र बनाउँदैन, छालाको रंगमा पनि सुधार आउँछ ।

(एजेन्सीको सहयोगमा)

Share This
  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares