January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।

Advertisement

ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६–२४ ले नेपालले अग्रता बनाएको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८–१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४–२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९–२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४–२४ मा पु¥याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४–२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित्दै खेलमा २–१ को अग्रता बनायो । १०–११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८–११ को अग्रता बनाउँदै खेल २५–१५ ले सहजै जित्यो ।

तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५–२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ को अवस्थामा पु¥यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५–११ ले जित्दै नेपालले उपाधि जित्यो ।