January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : पुबुदु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् ।

Advertisement

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुबुदुको यो दोस्रो कार्यकाल हो । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए ।

विमानस्थलमा पुबुदुले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए । नेपालले आउँदो फेब्रुअरी १५ मा आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायर खेल्दै छ । समूह ‘ए’मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नुपर्नेछ । यस्तो अवस्थामा पुबुदु दोस्रो कार्यकाल सम्हाल्न नेपाल आइपुगेका छन् ।

यसअघि, सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षण सम्हालिसकेका पुबुदुले पछिल्लो समय अमेरिकाको प्रशिक्षण सम्हालेका थिए । पुबुदुलाई क्यानले गएको महिना खुला प्रतिस्पर्धामार्फत अनुबन्ध गरेको थियो।

पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो । २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप पनि खेलेको थियो।

पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ। साथै, ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ ।

त्यसपछि क्यान र खेलाडीबीच तिक्तता बढेको छ। त्यस विषयमा क्यानमै पनि दुई धार छ। यस्तो अवस्थामा दोस्रो कार्यकाल पुबुदुका लागि थप चुनौती बन्नेछ।