January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

एभिसी सेन्ट्रल जोन : लगातार दोस्रो उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ ।

Advertisement

समुह चरणको अन्तिम खेलमा नेपालले हिजो किर्गीस्तानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–८ ले जितेको नेपालले त्यसपछिका दुई सेट २५–१४ र २५–१६ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

समुहमा सबै खेल जितेको नेपालले आज उज्वेकिस्तानलाई पनि सहजै हराएर उपाधि रक्षा गर्ने अनुमान गरिएको छ । लिग चरणको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराईसकेको छ । हिजै भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै उज्वेकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहेपनि सेटमा श्रीलंका पछि पर्‍यो । किर्गिस्तानले ६ अंक जोड्यो । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेनन् ।