January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

गाई संरक्षणका लागि गौशाला

म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका– ७ धाइरिङमा स्थानीय जातका गाईको संरक्षण गर्न गौशाला स्थापना गरिएको छ । लोपहुँदै गएका स्थानीय जातका गाई संरक्षणका लागि गौशाला स्थापना गरिएको हो । गौशालामा हाल स्थानीय जातका ३२ गाई छन् ।

Advertisement

गण्डकी गोपाल गौशालाले दुई वर्षअघि नेपालमै पहिलो पटक गौ महोत्सव आयोजना गरेको थियो । महोत्सवमा करिब रु तीन करोड सङ्कलन गरिएको थियो । सोही रकमबाट गौशालालाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

गौशाला अवलोकन र गाईको सेवाका लागि धाइरिङमा धार्मिक पर्यटक पुग्न थालेका छन् । हिजो शनिबार मात्रै १०० भन्दा बढी धार्मिक पर्यटक पुगेर सामूहिक रुपमा गौ पूजा र गाईको आहाराका लागि पराल सङ्कलन गरिएको त्यहाँ पुगेर फर्किनुभएकी पर्वत मिलनचोककी जमुना आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही अवसरमा जम्मा गरिएको पराललाई फिँजारेर सामूहिक दाँइ पनि गरिएको थियो । गौशालामार्फत धाइरिङलाई धार्मिक पर्यटकको केन्द्र बनाउन लागिएको अध्यक्ष आचार्यले बताउनुभयो । गाईमा सबै देवता निवास गर्छन् भन्ने मान्यता छ ।

भविष्य पुराणका अनुसार गाईको पीठमा भगवान् ब्रह्मा, गलामा विष्णु र मुखमा शिव रहनुहुन्छ भने मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको रौँ रांँैमा महर्षिहरूको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सबै पर्वत, गोमूत्रमा गङ्गालगायत पवित्र नदी रहने वर्णन गरिएकोे पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रको बास हुन्छ । यसैले गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिकको रूपमा लिइन्छ । प्राचीन समयदेखि गोदानलाई सबैभन्दा ठूलो दान मानिएको छ भने गाईको हत्यालाई सबैभन्दा ठूलो महापाप । त्यसैकारण वैदिक कालदेखि नै हिन्दू धर्म मान्नेले गाईको पूजा गर्दै आइरहेका छन् ।

आर्थिक महत्व

गाईलाई केबल धार्मिक दृष्टिकोणले मात्र नभएर आर्थिक महत्वले पनि निकै उपयोगी जनवार मानिन्छ । प्राचीन कालमा गाईको सङ्ख्याबाटै व्यक्तिको सम्पन्नता आँकलन गरिन्थ्यो । जोसँग जति धेरै गाईको सङ्ख्या छ उ त्यति नै धनी मानिथ्यो । प्राय सबै धार्मिक क्रियाकलापमा गाई दानको महत्व अहिले पनि छ ।

पण्डित नीलकण्ठ आचार्यका अनुसार प्राचीन समयमा परिवारको भरणपोषण गाईमै निर्भर थियो । खेत जोत्नका लागि बहर गाईबाट प्राप्त हुन्छ हुन्छ । दूध, दही, घ्यु, गहुँत वा गोबर सबै उपयोगी मानिन्छ ।पछिल्लो समय गाईपालनमा निकै कमी आएको छ । ग्रामीण क्षेत्रमा मात्र केही सङ्ख्यामा गाईपालन भइरहेको छ भने केहीले व्यावसायिकरुप दिएर पालिरहेका छन् ।

वैज्ञानिक महत्व

गाईको महत्व धार्मिक तथा आर्थिक दृष्टिले मात्र छैन, केही वैज्ञानिक तथ्यले पनि यसको महत्व दर्शाउँछ । दूध, दही, घ्यू त गाईलेभन्दा भैँसीले धेरै दिन्छ तर गुणका हिसाबमा गाईभन्दा राम्रो छैन । गाईको दूध धेरै शक्तिबर्धक हुने भएकाले दूध र त्यसबाट बनेका पदार्थको तुलना अरुसँग हुनै नसक्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

गाईको गहुँतमा हृदयरोगका लागि लाभकारी तत्व पनि पाइनाका साथै पोटेसियम, सोडियम, नाइट्रोजन, फस्फोरस, युरिया, युरिक एसिडका साथै तथा दूध दिने समयमा छाडने गौँतमा लेक्टोजको मात्रा धेरै हुने भएकाले चिकित्सा विज्ञानमा यसलाई अझ महत्व दिइने आयुर्वेदिक चिकित्सकको भनाइ छ ।