January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि सहयोग पु¥याइरहेको मिर्मिरे कृषि सहकारीले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।उद्योग शनिबार गण्डकी प्रदेशसभा सदस्य पियारी थापाले उद्घाटन गर्नुभयो । उद्योगमा खाद्यान्न बालीको प्रशोधन, तोरीलगायत तेलहन बाली प्रशोधन गर्नाका साथै दूधबाट खुवा बनाउने उपकरण पनि जडान गरिएको अध्यक्ष गङ्गबहादुर थापाले जानकारी दिनुभयो ।

झण्डै ५०० किसान सहभागी सहकारीले प्रशोधन उद्योग सञ्चालनमा ल्याएसँगै कृषि उत्पादनको प्रशोधन तथा बजारीकरणको काम पनि गर्ने उहाँले बताउनुभयो । किसानले पालेका गाईभैँसीको दूधबाट खुवा बनाउने काम उद्योगमा हुन्छ । खुवाको माग बजारमा उच्च रहेकाले दैनिक उत्पादन थालिएको सहकारीले जनाएको छ । प्रतिकिलो खुवा बागलुङ बजारमा एक हजारदेखि एक हजार १०० सम्ममा बिक्री हुने गरेको छ ।
‘उद्योगले उत्पादन गरेको दाना पशुचौपायका लागि हुन्छ, दूधको खुवा बजार गइरहेको छ’ अध्यक्ष थापाले भन्नुभयो । गौँडाकोटमा रहेको झण्डै तीन रोपनी जमिन भाडामा लिएर उद्योग सञ्चालन गरिएको हो । सहकारीले रु ३० लाख लगानी गरेर उद्योग सञ्चालनमा ल्याएको कोषाध्यक्ष थानेश्वर सुवेदीले बताउनुभयो । उक्त उद्योगका लागि प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयले रु नौ लाख दुई हजार अनुदान उपलव्ध गराएको थियो ।

तरकारी र खाद्यान्नबालीको व्यावसायिक उत्पादन गरिरहेका किसानले साना कृषि उद्योग पनि सञ्चालन गर्दा उत्पादन, प्रशोधन र बजारीकरणसम्मको सबै काम एकद्वार प्रणालीमार्फत हुने सहकारीका सदस्यको विश्वास छ ।सहकारीले बँदेल पालनसमेत सुरु गरेको छ । जङ्गलमा पाइने बँदेलको माग बजारमा अत्यधिक भए पनि व्यावसायिक उत्पादन नहुँदा आपूर्ति कम रहेको भन्दै सहकारीले सामूहिक बँदेलपालन थालेको अध्यक्ष थापाले बताउनुभयो । ‘घाम, पानी, हावाहुरी र वर्षामासमेत खेतबारीको अलमलिने किसानको आज आफ्नै उद्योग छ’ सहकारीका सचिव नारायण शर्माले भन्नुभयो,“यो उद्योग उपभोक्ता र उत्पादक सबैका लागि सहयोगी बन्ने छ ।”

Advertisement