January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले दियो व्यापारको लागि अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि  अनुमति दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिएको हो।

Advertisement

उर्जामन्त्री पम्फा भुसालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत एनपीटीसीलाई अनुमति दिइएको जानकारी दिइन्।

चाँडै निजी क्षेत्रलाई पनि यस्तो लाइसेन्स दिइने मन्त्री भुसालले बताइन्। विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानुनी व्यवस्था स्पष्ट छैन। त्यस्ता कम्पनीलाई कुन निकायले इजाजत दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल थियो।

ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो इजाजत दिन सकिने बताउँदै आएको छ। तर त्यसको कानुनी आधार बनिनसकेका कारण मन्त्रिपरिषद्को विशेष अधिकारबाट इजाजत दिइएको हो।
प्राधिकरणले आफ्नो सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको थियो। कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको यो कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व प्रस्ताव गरिएको छ।

त्यस्तै, विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को समान १७ प्रतिशत तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएलको) १५ प्रतिशत सेयर रहने गरी यो कम्पनी स्थापना गर्न लागिएको छ।