January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

जनयुद्धका घाइते घरेलु हिंसाका पीडित

कर्णाली- देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ ।

Advertisement

पञ्चपुरी नगरपालिका–८ तुलालथाई सुर्खेत स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा बस्दै आउनुभएका चेतन पार्टीले घाइते अपाङ्गप्रति गरेको व्यवहारले पनि त्यस्तै दिक्क हुनुहुन्छ । शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवार, घाइते अपाङ्गता भएका व्यक्तिले के गरिरहेका छन्, भन्ने सोधीखोजी नगर्दा निकै दुःख लागेर आएको उहाँले बताउनुभयो ।

“नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित कर्णाली प्रदेश अध्यक्षमा विमला केसी आएलगत्तै लामो समयपछि हाम्रो समस्या बुझ्न खोजिँदा भने निकै खुसी लागेर आएको छ”, सिग्देलले भन्नुभयो, “पार्टीले हाम्रो योगदानलाई बुझेर अब व्यवस्थापन गर्दैछ कि भन्ने ठूलो आशासमेत पलाएको छ ।”

विसं २०५९ फागुनमा १६ वर्षको कलिलो उमेरमा भूमिगत हुनुभएका चेतनले सुरुमा कलाकारिता क्षेत्रमा जोडिएको र त्यसपछि वाइसियल सुर्खेतको जिल्ला सदस्य हुँदै जनमिलिसियाको कमाण्डर र तत्पश्चात् सेनामा काम गरेको विगत उहाँले सुनाउनुभयो । उहाँले सेनामा जोडिएपछि विसं २९६२ सालभरि रुकुमको पिपल, स्याङ्जाको मनकामना, पाल्पाको तानसेन, नवपरासीको सुनवल र कपिलवस्तुको तौलिहवा गरी पाँच ठाउँको युद्ध लड्नुभयो ।

अन्तिमको युद्ध भने विसं २०६२ फागुन २५ गते कपिलवस्तुको सदरमुकाम तौलिहवाको थियो जुन युद्धमा सिग्देलको शरीरको दायाँ भागमा गोली लाग्यो । उक्त गोलीबाट सख्त घाइते भएका उहाँको दायाँतर्फको भाग प्यारालाइसिस भयो । गोली निकालेको केही समयपछि मस्तिष्कमा रगत जम्यो र बायाँतर्फको सिङ्गो शरीर प्यारालाइसिस भएपछि एक दशकदेखि उहाँको आधा शरीर मृतावस्थामा छ ।

प्यारालाइसिस भइसकेपछि २०६२ सालदेखि सुर्खेतको दशरथपुर रहेको माओवादी क्याम्पमा बसेर २०६८ सालमा अवकाश लिएको उहाँले बताउनुभयो । “त्यसपश्चात् जीवन निर्वाह भत्तास्वरुप रु छ हजार पाउँदै आएको थिएँ तर डेढ वर्षदेखि त्यही भत्ता मैलै पाएको छैन”, दुखेसो पोख्दै उहाँले भन्नुभयो, “पुनरावलोकनमा मलाई छुटाइएको छ, भत्ता नपाउँदा मलाई जीवन निर्वाह गर्न अहिले निकै गाह्रो छ, आजभोलि मैले रु २० हालेर दैनिक तीन पटक औषधि लिँदै आएको छु ।”

उहाँले आफूजस्तै साथीहरुले क र ख वर्गमा पारेर मासिक रु नौदेखि १८ हजार जीवन निर्वाह भत्ता खाइरहेको जनाउनुभयो । उक्त सेवा नपाउँदा कठिन तरिकाले जीवन जिइरहका आफूजस्तै घाइतेको विजोग भएको अपाङ्गता भएका व्यक्ति उहाँको भनाइ थियो । चेतनका अनुसार पार्टीले बेवास्ता गरिहरँदा घरबाट त्यसभन्दा अझ बढी असहयोग भएको छ । पाँच÷छ वर्षदेखि उहाँलाई घर परिवार र ससुरालीले पनि पीडा दिँदै आएका छन् । प्यारालाइसिस अवस्था हुँदा आफ्नै घरको श्रीमतीले नै धिकार्न थालेपछि त्यस व्यवहारले उहाँलाई मरु कि बाँचु भन्ने सोचले किनारामा पु¥याएको छ ।

त्यतिमात्र नभएर श्रीमतीले आफूलाई चाँडो डिभोर्स दे भन्ने र ससुरालीले पनि सम्बन्धविच्छेद दिन धम्की दिइरहेको उहाँले बताउनुभयो । परिवारको अपमान, गाली र ससुरालीको धम्कीको पीडाले आफूलाई सताएको चेतनले बताउनुभयो । साहारा पाउने बेला नै बेसाहारा बन्नुपर्ने परिस्थिति आइलागेपछि चेतनलाई त्यसले निकै पीडित बनाएको छ । तीन वर्षअघि काठमाडाँैमा ‘प्रचण्ड’लाई भेटेर समस्या बताउँदा सबैको व्यवस्था गर्छु भनेर अध्यक्ष प्रचण्डले जवाफ दिएको उहाँले सुनाउनुभयो ।

प्यारालाइसिसले थलिएका ३४ वर्षीय चेतनलाई अझै पनि एकचोटि पुनः अध्यक्ष प्रचण्ड र तत्कालीन लडाइँको कमाण्डर जनार्दनलाई भेट्ने इच्छा छ ।