November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

बंगलादेश टी–ट्वान्टी विश्वकपको सुपर १२ मा प्रवेश

काठमाडौं । बंगलादेशले युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ । ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेशले दोस्रो जित निकालेको हो ।

Advertisement

बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो । पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए ।

पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २÷२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । बंगलादेशका लागि महमुद उल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए । यस जितसँगै बंगलादेशले सुपर १२ मा स्थान बनाएको छ ।

पहिलो चरणको ‘बी’ को बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ । बंगलादेश शीर्ष स्थानमा समेत उक्लिएको छ  । पीएनजीको यो लगातार तेस्रो हार हो । यस हारसँगै पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ ।