September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

जसपाको महन्थ ठाकुर पक्षद्वारा संविधान संशोधन र रेशम चौधरीलाई रिहा गर्न माग

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

यो पक्षले संविधान संशोधन, मुद्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय तहहरुको जनसंख्याका आधारमा पुनस्र्थापना गर्नुपर्ने माग पनि अघि सारेको छ ।

जसपा भित्र पनि सरकारमा जाने कि नजाने भन्नेमा भने नेताहरुको फरक–फरक मत आएको छ । तर सत्तारुढ कांग्रेस र प्रधानमन्त्रीबाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै निर्णय नभएको एक नेताले बताएका छन् ।

साथै सबै नेपालीलाई निःशुल्क खोप व्यवस्था गर्न, आर्थिक राहत प्याजेक ल्याउन तथा नेपाल भारत सीमामा सहज आवतजावतको प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ ।