September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

अफगानिस्तानले भोग्दैछ अमेरिकी असफलताको नतिजा

अफगानिस्तान आज जुन सङ्कटबाट गुज्रिरहेको छ, त्यो अमेरिका र तालिवानबीचको दोहा सम्झौताको असफलताको नतिजा हो । तालिवानले कहिल्यै सङ्घर्ष विराम नै गरेन, न त सत्ता साझेदारी गर्ने मनसाय नै उसको रह्यो । नतिजा, अफगानिस्तानबाट अमेरिका फौज निस्कन थाल्नासाथ उसले हिंसा मच्चाउन थाल्यो । अफगानिस्तानका झन्डै १ सय ५० जिल्ला अहिले तालिवानको कब्जा गरेको ठानिएको छ र उसले आफ्नो प्रभाव थप बढाउने उद्देश्य राखेको छ । यसका बाबजुद पनि अफगानिस्तानको नागरिक सरकार बेअसर हुनेछ र पुरै देश तालिवानले कब्जामा लिनेछ भन्नु गलत हुनेछ ।

Advertisement

यसको सबैभन्दा ठुलो कारण अफगानी सुरक्षा बल हो । वर्षौँदेखि तालिवानसँग अफगानी सेना लडिरहेको छ । नाटो फौजबाट प्रशिक्षित यी सैनिकहरू आफ्ना दुस्मनलाई हवाई हमलाबाट समाप्त गर्न माहिर छन् ।

झन्डै ४० हजारदेखि ५० हजारको विशेष कमान्डो अफगानी सेनामा छ ।

तालिवानी लडाकुहरूले उनीहरूको सामना गर्न सक्दैनन् । त्यसै कारण तालिवानका लागि अफगानिस्तानका प्रमुख सहर कब्जा गर्न सहज हुनेछैन ।

खासमा तालिवानले कब्जामा लिएको भनिएका १ सय ५० जिल्लाहरू निकै साना जिल्ला हुन् । केहीमा त केवल १० घर छन्, केही जिल्लामा एक देखि दुई हजारसम्म जनसङ्ख्या छ ।

अफगानी सेनाको पुरै ध्यान ठुला जनसङ्ख्या रहेका महत्त्वपूर्ण इलाकामा छ, त्यसैले यी साना जिल्लामा तालिवान सहज रूपमा कब्जा जमाउन सफल भइरहेको छ । अमेरिका–तालिवानबीचको सम्झौतामा तालिवानले अमेरिकी सैनिकलाई निशाना बनाउने छैन र वासिङ्टनलाई असर गर्ने कुनै काम गर्ने छैन भनेर लेखिएको थियो ।

यो शर्त तालिवानको अनुकूल थियो, किनकि फेरि अमेरिकी सेना अफगानिस्तान आओस् भनेर उसले चाहेको थिएन ।

तर अफगान सुरक्षा बलमाथि भने उनले निरन्तर निशाना साँधिरहेको छ, जसको जवाफ अफगानी सैनिकले पनि दिइरहेका छन् ।

यसको अर्थ पछिल्लो समय यहाँ लडाइँको मैदानमा अमेरिकी सैनिक थिएनन्, बरु उनीहरूले अफगान सुरक्षा बललाई प्रशिक्षण दिइरहेका थिए भन्ने हो । उनीहरूले गोप्य सूचनाको आदान–प्रदान र अफगान वायु सेनाको रेखदेख गरिरहेका थिए भन्ने हो ।

 

अर्थात्, अफगानी सुरक्षा बलले एक्लै भिडन्त गरिरहेको छ । त्यसो भए ठुलो चुनौती के छ ?

जवाफ : तालिवानले छेडेको दोहोरो युद्ध हो । उसले अफगानी सेनामाथि हमला गर्ने मात्र होइन, सेनाभित्र फुट ल्याउने कोसिस पनि गरिरहेको छ । अफगानिस्तान फौजमा क्षमतावान् युवा मात्रै होइन मूल अफगानी, ताजाक र पस्तुन मूलका सैनिकहरू पनि छन् । तालिवानले उनीहरूमा दरार पैदा गर्ने कोसिस गरिरहेको छ ।

जुलाईको सुरुवाती साता सयौँ अफगानी सैनिकहरू भागेर ताजकिस्तान गएको घटनालाई तालिवानको सफलता मान्न सकिन्छ । तेस्रो, चुनौती सत्तारुढ मोर्चामा छ ।

अफगानिस्तानको राजनीतिक नेतृत्व आज पनि एकजुट देखिएको छैन ।

त्यहाँ नेताहरूले आपसी दरारले सुरक्षा बलको मनोबल गिर्न सक्छ भनेर बुझ्नुपर्छ, यो स्थिति यस पुरै क्षेत्रका लागि सुखद होइन । तर, विशेष गरी भारत सावधान रहनुपर्छ । त्यहाँ भारतले केवल सञ्चार लाइन बिछ्याउने सडक बनाउने, बाँध, पुल आदि निर्माण गर्ने मात्र होइन, धेरै संरचनात्मक परियोजनाहरूका लागि पनि आर्थिक सहयोग गरेको छ ।

यी तमाम निर्माण कार्यको सुरक्षा ठुलो विषय हो । किनकि, भारतले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने नीति अपनाउँदैन, त्यसै कारण स्थानीय जनताले नै यी परियोजनाहरूको रक्षा गर्नुपर्ने हुन्छ ।

तर, यी पूर्वाधारहरू हरेक शासकलाई पक्कै जरुरी पर्छन्, त्यसैले तत्कालै तालिवानले सायदै यसमा क्षति पु¥याउला ।

विश्व समुदायसँग आफ्नो सम्बन्ध सुधार्नका लागि तालिवानले अलग–अलग देशहरूसँग कूटनीतिक सम्बन्ध बनाउने प्रयास गर्नसक्छ । अहिलेसम्म भने ऊ पहिलेजस्तै कट्टर र बर्बर छ ।

आफ्नो कब्जामा रहेका इलाकामा सरीयत कानुन लागू गर्ने, युवतीहरूलाई बाहिर निकाल्ने, पुरुषहरूलाई दाह्री राख्न बाध्य बनाउनेलगायत कामहरू उसले गरिरहेको छ । अन्य अतिवादी दस्ताहरूसँग आफ्नो सम्बन्ध नतोड्ने घोषणा पनि उसले गरिसकेको छ । उसले आगामी दिनमा चीनसँग धेरै सम्झौता गर्ने सम्भावना पनि छ ।

पाकिस्तानसँग पनि उसले आफ्नो सम्बन्ध बलियो बनाउन सक्छ । किनकि, तालिवानीहरुले इस्लामवादबाट सहयोग पाइरहेका छन्, अफगान सुरक्षा बलको हातबाट मारिएका तालिवानी लडाकुहरूसँग पाकिस्तानी नागरिकता रहेको प्रमाण भेटिएको छ ।

यसका बाबजुद पनि १९९० र आजको दिनमा अफगानिस्तानमा धेरै फरक छ । नयाँ अफगानिस्तानमा अब लाखौँ युवा–युवती शिक्षित र व्यावसायिक छन् । उनीहरूले राजनीतिक स्वतन्त्रता र लोकतन्त्रको महत्त्व राम्रोसँग बुझेका छन् । उनीहरूले तालिवानको कट्टर सोचलाई सहजै स्विकार्दैनन् ।

यहाँ तालिवानविरुद्ध दोस्रोपटक प्रतिरोध सुरु हुनसक्छ, त्यसको कमाण्ड नयाँ पिँढीले लिनसक्छ ।

भारतले यहाँ खासै धेरै गर्न सक्दैन । र पनि नयाँ दिल्लीले सबैभन्दा पहिले अफगानिस्तानमा भारत हा¥यो भनेर पाकिस्तानले गरिरहेको दुष्प्रचार रोक्नुपर्ने हुन्छ ।

अफगानिस्तानमा छद्म तरिकाले पाकिस्तानले भारतसँग लडिरहेको थियो भन्ने सङ्केत यो दुष्प्रचारले गर्छ । र, अब तालिवानको बढ्दो प्रभावले यस लडाइँमा पाकिस्तान विजयी भएको प्रमाणित हुन्छ ।

यर्थाथमा, भारत त्यहाँ कुनै युद्धका लागि होइन । विकास –निर्माणमा जुटेको थियो, यस कार्यलाई अफगानिस्तानको सत्ता र जनताले निकै रुचाएका छन् ।

अन्तर्राष्ट्रिय समुदायलाई सक्रिय बनाउने, युद्ध विराममा तत्काल सहमति गर्ने, आसन्न राजनीति सम्झौतामार्फत मानवअधिकारको रक्षा, शिक्षालगायत पछिल्ला दुई दशकका उपलब्धिहरू सुनिश्चित गर्नेलगायत विषयमा अहिले भारतले जोड दिइरहेको छ । भारतका विदेश मन्त्री एस जयशंकर यस विषयमा ईरान, रुस र चीनजस्ता देशसँग लगातार सम्पर्कमा छन् । अर्थात्, भारतले कूटनीतिक रूपमा अवस्थालाई सामान्य बनाउने कोसिस गरिरहेको छ, भारतको यो कोसिसले सफलता हासिल गर्छ भनेर अहिल्यै ठोकुवा गर्न सकिँदैन । संयुक्त राष्ट्रसङ्घले यस मामिलामा हस्तक्षेप गरेर अफगानिस्तानमा बदलिदों घटनाक्रमको संज्ञान लिदैं सबै पक्षलाई वार्ताको टेबुलमा ल्याउनु सबैभन्दा राम्रो हुन्छ । यद्यपि, यो सबैका लागि हिंसा तत्काल रोक्नुपर्छ, जसका लागि तालिवान अझै राजी भएको देखिदैंन ।

(यो लेख लाईभ हिन्दूस्तान डटकमबाट साभार गरिएको हो ।)